Press Release

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम (P2P) रेमिट्यान्स सेवाको थालनी।

June 12, 2026

काठमाडौँ, नेपाल – हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड (EBL) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप “EBL Touch 24“ मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर (P2P) रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (Real–time) रकम आदानप्रदान गर्न सक्नेछन्।

यो ऐतिहासिक सुबिधा नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (NPCI) बीचको गेटवे लिंकमार्फत सम्भव भएको हो। (NCHL) ले नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) लाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) सँग एकीकृत (Linkage) गरी यो क्रस–बोर्डर भुक्तानी प्रणाली सुचारु गर्न जग खडा गरेको छ। यो प्रणालीमार्फत फन्ड ट्रान्सफरको प्राविधिक प्रोसेसिङ NCHL र NPCI ले व्यवस्थापन गर्नेछन् भने रकमको सेटलमेन्ट बैंकहरू मार्फत हुनेछ।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्। जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन्। त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा विना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउँन सक्नेछन्।

यस प्रणालीको सबैभन्दा ठूलो विशेषता यसको सहजता र सुरक्षा हो। अब ग्राहकहरूले फन्ड ट्रान्सफरका लागि बैंक खाताको विस्तृत विवरण (Account Details) साझा गरिरहनु पर्ने झन्झट हटेको छ। नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले कारोबारलाई अझ सरल, सुरक्षित र प्रयोगकर्ता–मैत्री बनाएको छ ।

यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको द्रुत र सुरक्षित डिजिटल सेवाले दुवै देशमा कार्यरत नागरिकहरूलाई प्रत्यक्ष लाभ पु¥याउनुका साथै नेपाल र भारतबीचको ऐतिहासिक, सामाजिक एवं वित्तीय सम्बन्धलाई थप सुदृढ र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ। प्रविधिमैत्री, भरपर्दो र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरूप एभरेष्ट बैंकले आफ्ना सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि यो नवप्रवर्तनकारी सुविधा सञ्चालनमा ल्याएको हो।

यस सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि ग्राहक महानुभावहरूले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट भ्रमण गर्न वा आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।