Archives
- Home
- Press Releases
एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच/परिक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्ली स्थित रहेको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न शहरमा रहेका मेदान्त अस्पतालका १३ शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यो १५ प्रतिशत छुट अस्पतालको ओपिडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ ।
यस छुटको सुविधा प्राप्त गर्नका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ । अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष छुट सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनेछ ।
मिति २०८३/०६/१४ एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा मिति २०८३/०६/१४ मा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ५% बोनस शेयर र १०% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, प्रस्तावित बोनस शेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ । आ.व. २०८३/८४ को लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।
एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८३ साल असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ। साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोहि भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ। यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ।
धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष श्री पुष्कर ओझाज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यज्यूबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री जुगराम चौधरीज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यू, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख श्री यज्ञ राज तिमिल्सिनाज्यू, विभिन्न उद्योग व्यवसायीहरु तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो।
क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा मिति २०८३ साल भाद्र १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।
काठमाडौँ, नेपाल – हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड (EBL) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप “EBL Touch 24“ मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर (P2P) रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (Real–time) रकम आदानप्रदान गर्न सक्नेछन्।
यो ऐतिहासिक सुबिधा नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (NPCI) बीचको गेटवे लिंकमार्फत सम्भव भएको हो। (NCHL) ले नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) लाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) सँग एकीकृत (Linkage) गरी यो क्रस–बोर्डर भुक्तानी प्रणाली सुचारु गर्न जग खडा गरेको छ। यो प्रणालीमार्फत फन्ड ट्रान्सफरको प्राविधिक प्रोसेसिङ NCHL र NPCI ले व्यवस्थापन गर्नेछन् भने रकमको सेटलमेन्ट बैंकहरू मार्फत हुनेछ।
नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्। जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन्। त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा विना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउँन सक्नेछन्।
यस प्रणालीको सबैभन्दा ठूलो विशेषता यसको सहजता र सुरक्षा हो। अब ग्राहकहरूले फन्ड ट्रान्सफरका लागि बैंक खाताको विस्तृत विवरण (Account Details) साझा गरिरहनु पर्ने झन्झट हटेको छ। नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले कारोबारलाई अझ सरल, सुरक्षित र प्रयोगकर्ता–मैत्री बनाएको छ ।
यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको द्रुत र सुरक्षित डिजिटल सेवाले दुवै देशमा कार्यरत नागरिकहरूलाई प्रत्यक्ष लाभ पु¥याउनुका साथै नेपाल र भारतबीचको ऐतिहासिक, सामाजिक एवं वित्तीय सम्बन्धलाई थप सुदृढ र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ। प्रविधिमैत्री, भरपर्दो र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरूप एभरेष्ट बैंकले आफ्ना सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि यो नवप्रवर्तनकारी सुविधा सञ्चालनमा ल्याएको हो।
यस सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि ग्राहक महानुभावहरूले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट भ्रमण गर्न वा आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले मिति २०८२/१२/०२ देखि २०८२/१२/०८ सम्म Global Money Week – 2026 को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको छ। साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारी समेत गराइएको छ ।
‘Smart Money Talks’ भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा समेत सचेत गराइएको थियो ।
एभरेष्ट बैंकले नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै लामो समय देखिनै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको र उत्त परम्परा यथावत राख्ने क्रममा उन्नाईसौं शताब्दीको मध्यदेखि शुरु गरिएका र महादेशीय हिसाबले पनि महत्वपूर्ण मानिने “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” विषयवस्तु राखेर तयार पारिएको २०८३ सालकोे क्यालेन्डर अनावरण गरेको छ ।
एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले २०८३ सालकोे क्यालेन्डर अनावरण गर्नु भएको हो र उत्त समारोहमा बैंकका सञ्चालक लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।
एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२/०७/१२ मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ६% बोनस शेयर, १४% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०८२/८३को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यो शाखा सँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर श्री प्रहलाद कुमार क्षेत्रीज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यूूबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्री भोला खड्काज्यू, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष श्री विष्णु खड्काज्यू, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख श्री पुष्प राज उप्रेतीज्यू तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।
एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावरर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रू १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख श्री सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष श्री बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।
मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेद्धारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यस बाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।
यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेड बिच विद्युत खरिद बिक्रि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
