करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३

प्रायः सोधिने प्रश्नहरू

प्रश्न १ः यो ’करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ के हो र किन ल्याइएको हो?
उत्तरः यो नेपाल सरकार, अर्थ मन्त्रालयले जारी गरेको कार्यविधि हो, यो करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सरल, सहज, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न बनाइएको हो । यसको मुख्य उद्देश्य वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गरी कर अनुपालन अभिवृद्धि गर्नु, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्नु र उपभोक्तालाई अनिवार्य रूपमा बीजक लिन उत्प्रेरित गर्नु हो ।

प्रश्न २ः यो कार्यविधि कहिलेदेखि लागू हुन्छ ?
उत्तरः यो कार्यविधि २०८३ श्रावण २१ गते देखि प्रारम्भ हुन्छ ।

प्रश्न ३ः यस कार्यविधिमा “उपभोक्ता” भन्नाले के बुझिन्छ ?
उत्तरः “उपभोक्ता” भन्नाले नेपालभित्र आफ्नो प्रयोजनका लागि (स्वः प्रयोजनका लागि) वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता लाई जनाउँछ ।

प्रश्न ४ः यो कार्यक्रम कसले सञ्चालन गर्छ ?
उत्तरः आन्तरिक राजस्व विभागले यो कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रश्न ५ः यस कार्यक्रममा सहभागी हुन को योग्य हुन्छ ?
उत्तरः स्वः प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० (एक सय रुपैयाँ) भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुन्छ ।

प्रश्न ६ः सहभागी हुनका लागि खरिद कुन अवधिभित्रको हुनुपर्छ ?
उत्तरः प्रत्येक महिनाको एक गतेदेखि सोही महिनाको मसान्तसम्म भएका विद्युतीय भुक्तानीबाट गरिएको खरिद तथा प्रणालीमा प्रविष्ट भएका बीजक सोही महिनाको कार्यक्रममा समावेश गरिन्छ ।

प्रश्न ७ः एउटा योग्य खरिद बापत कति वटा उपहार टिकट पाइन्छ ?
उत्तरः योग्यताको दफा अनुसार सहभागी हुने प्रत्येक खरिद बीजक र विद्युतीय भुक्तानीबाट गरिएको खरिद बापत प्रणालीबाट एउटा उपहार टिकट उपलब्ध हुन्छ, र प्रणालीमा प्रविष्ट गरिएको बीजक एक पटकका लागि मात्र कार्यक्रममा सहभागी हुन योग्य हुन्छ ।

प्रश्न ८ः कुन–कुन बीजकहरू कार्यक्रममा सहभागी हुन योग्य हुदैनन् ?
उत्तरः देहायका बीजकहरू कार्यक्रममा सहभागी हुन योग्य हुदैनन् (क) व्यावसायिक प्रयोजनका लागि भएको खरिद बीजक, (ख) सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएको बीजक, (ग) टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिद बापतको बीजक, र (घ) स्थायी लेखा नम्बर नलिएको व्यक्तिबाट खरिद गरेको बीजक। साथै, एउटै बीजक वा विद्युतीय भुक्तानीबाट गरिएको खरिद एक पटकभन्दा बढी कार्यक्रममा सहभागी गराउन पाइँदैन ।

प्रश्न ९ः कार्यक्रममा सहभागी हुने प्रक्रिया के हो ?
उत्तरः भुक्तानी सेवा प्रदायक मार्फत भएको विद्युतीय भुक्तानीबाट गरिएको खरिद कार्यक्रममा स्वतः समावेश हुन्छ। यसबाहेकका योग्य बीजक लिएका उपभोक्ताले सहभागी हुन चाहेमा बीजक जारी भएको मितिले तोकिएको अवधिभित्र प्रणालीमा बीजक नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर, बीजक जारी मिति, बीजकमा उल्लेखित कूल रकम, भुक्तानीको प्रकार (नगद वा विद्युतीय), खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्छ। प्रविष्ट भएको विवरण प्रणालीद्वारा स्वचालित प्रमाणीकरण गरी योग्य बीजक कार्यक्रममा समावेश गरिन्छ ।

प्रश्न १०ः विजेता उपभोक्ता कहिले र कसरी छनोट गरिन्छ ?
उत्तरः विभागले प्रत्येक महिनाको एक गते र सोह्र गते गरी महिनामा दुई पटक विजेता उपभोक्ता छनोट गर्छ । एक गते हुने छनोटमा अघिल्लो महिनाको सोह्र गतेदेखि सोही महिनाको मसान्तसम्मको र सोह्र गते हुने छनोटमा सोही महिनाको एक गतेदेखि पन्ध्र गतेसम्मको कारोबार विवरण समावेश गरिन्छ । छनोट स्वचालित प्रणाली मार्फत गरिन्छ ।

प्रश्न ११ः दैनिक र पाक्षिक (बम्पर) विजेता भनेको के हो ?
उत्तरः प्रत्येक दिनका लागि स्वचालित प्रणाली मार्फत एक जना दैनिक विजेता उपभोक्ता छनोट गरिन्छ भने पाक्षिक रूपमा (हरेक १५ दिनमा) एक जना बम्पर विजेता उपभोक्ता समेत छनोट गरिन्छ।

प्रश्न १२ः उपहारको रकम कति निर्धारण गरिएको छ ?
उत्तरः कार्यक्रममा दैनिक विजेता उपभोक्तालाई दिइने उपहार रकम जनही रु. १,३३,३३४ (एक लाख तेतीस हजार तीन सय चौतीस रुपैयाँ) हुन्छ । पाक्षिक बम्पर उपहार विजेता उपभोक्तालाई दिइने उपहार रकम रु. १०,००,००० (दश लाख रुपैयाँ) हुन्छ।

प्रश्न १३ः उपहार रकममा कर लाग्छ कि लाग्दैन?
उत्तरः लाग्छ । आयकर ऐन, २०५८ को दफा ८८क बमोजिम आकस्मिक लाभ बापतको भुक्तानीमा जस्तै २५ प्रतिशतका दरले उपहार रकममा कर कट्टी गरिन्छ ।

प्रश्न १४ः विजेता भएपछि उपहार दाबी गर्न के गर्नुपर्छ ?
उत्तरः विजेता उपभोक्ताले उपहार घोषणा भएको मितिले पाँच दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा आफैं वा आफ्नो वारेसमार्फत निवेदन दिनुपर्छ ।

प्रश्न १५ः उपहार दाबी गर्दा निवेदनसाथ के–के कागजात संलग्न गर्नुपर्छ ?
उत्तरः देहायका कागजात संलग्न गर्नुपर्छः (क) सक्कल बीजक, (ख) राष्ट्रिय परिचयपत्र, नागरिकता प्रमाणपत्र, राहदानी, सवारी साधन अनुमतिपत्र वा यस्तै अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपि, (ग) बैंक खाताको विवरण, र (घ) स्थायी लेखा नम्बर।

प्रश्न १६ः उपहार वितरण कति दिनभित्र गरिन्छ ?
उत्तरः पेश गरिएका कागजात तथा विवरण आवश्यक जाँचबुझ गरी दश दिनभित्र उपहार वितरण गर्नुपर्छ । उपहार रकम विजेता उपभोक्ताले उपलब्ध गराएको बैंक खातामा विभाग मार्फत सोझै भुक्तानी गरिन्छ ।

प्रश्न १७ः तोकिएको अवधिभित्र उपहार दाबी नगरे के हुन्छ ?
उत्तरः उपदफा (१) बमोजिमको पाँच दिनको अवधिभित्र आवश्यक कागजात सहित उपहार दाबी गर्न नआउने विजेता उपभोक्ताको उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिन्छ ।

प्रश्न १८ः विजेता उपभोक्ताको नाम सार्वजनिक गरिन्छ कि गरिँदैन ?
उत्तरः गरिन्छ । छनोट भएका विजेता उपभोक्ताको नाम विभागको वेबसाइट र सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। साथै विजेता उपभोक्तालाई निजको मोबाइल नम्बर र इमेलको माध्यमबाट पनि छनोट भएको जानकारी दिनुपर्छ ।

प्रश्न १९ः पेश गरिएको कागजात झुट्टा वा नक्कली देखिएमा के हुन्छ ?
उत्तरः पेश हुन आएका कागजात जाँचबुझ गर्दा झुट्टा, नक्कली वा किर्ते प्रमाणित भएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाइन्छ ।